इस्राएली राजा आहाबको उल्लेख गर्ने २,९०० वर्ष पुरानो शिलालेख फेला पर्‍यो  

“यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्‍य गरे । ओम्रीका छोरा आहाबले आफ्‍ना अघिका सबै राजाहरूभन्‍दा परमप्रभुको दृष्‍टिमा अझ बढी दुष्‍ट्याइँ गरे । नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे” (१ राजा १६:२९-३१) ।

आहाब इस्राएलका सातौँ राजा थिए जसले ८७१-८५२ ख्रिस्टपूर्वम्म शासन चलाए । २२ वर्ष राज्य गरेका तिनी राजा ओम्रीका पुत्रसाथै उत्तराधिकारी थिए । तिनी दुष्ट रानी ईजेबेलका पति थिए । आफ्ना मूर्तिपूजा, कामवासना र लालचको कारण आहाब दुष्ट राजाका उत्कृष्ट नमुना हुन् ।

१८६१ मा ब्रिटिस पुरातत्त्वविद् जोन जर्ज टेलरद्वारा पत्ता लगाएको स्तम्भलाई कुर्ख स्तम्भ भनेर चिनिन्छ । कुर्ख भन्ने ठाउँमा पाइएको यस स्तम्भले शलमनेशर तृतीयको शासनबारे बयान गर्छ । हाल यस गाउँलाई अटिप भनेर चिनिन्छ जुन एसियाली मुलुक टर्कीको दियाबाकिर प्रान्तको बिसमिल भन्ने जिल्लामा पर्छ । १८६३ मा खोजकर्ता टेलरले यो स्तम्भ ब्रिटिस सङ्ग्राहलयलाई दानस्वरूप दिएका थिए ।

यस शिलालेखमा कार्करको युद्धको विषयमा लेखिएको छ जसमा इस्राएली राजा आहाबको नाउँ पाइन्छ । ८५३ ख्रिस्टपूर्वमा उत्तर-पश्चिम सिरियमा अवस्थित कार्कर नामक ठाउँमा यो युद्ध लडिएको थियो । यसमा सम्राट् शलमनेशर तृतीयद्वारा नेतृत्व गरिएको नव-अश्शूरी साम्राज्यको सेना विरुद्ध १२ स्थानीय राजाको गठबन्धको सेनाले युद्ध गरेका थिए ।

करिब ८५२ ख्रिस्टपूर्वको मिति दिइएको यो स्तम्भ झन्डै २,९०० वर्ष पुरानो शिलालेख हो । चुनढुङ्गाबाट निर्मित यस स्तम्भको अगाडि, पछाडि र दुवै किनारामा लेखिएको छ । कार्करको युद्धमा आफूले हासिल गरेका विजयको सम्झनास्वरूप शलमनेशर तृतीयले यो स्तम्भ खडा गरेका थिए । २२१ सेन्टिमिटर उचाइ, ८७ सेन्टिमिटर चौडाइ र २३ सेन्टिमिटर मोटाइ रहेको यस स्तम्भलाई हाल लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा राखिएको छ ।

नवौँ शताब्दी ख्रिस्टपूर्वमा राज्य गरेका अश्शूरी सम्राट् शलमनेशर तृतीय उत्तरी सिरियामा विजय हासिल गर्ने राजाको रूपमा परिचित छन् । कार्करको युद्धमा गठबन्धन सेनालाई शलमनेशरले पराजित गरेका थिए भनी स्तम्भमा उल्लेख गरिएको छ । अभिलेखअनुसार तिनले राजकीय सहर कार्करलाई नष्ट गरिदिए र “अरामका हदद-एजरका १,२०० रथ, १,००० घोडचढी, २०,००० सेना; … इस्राएली आहाबका २,००० रथ, १०,००० सेना” लाई पराजित गरे । इस्राएलका राजा आहाब अश्शूरी सेनाको विरुद्धमा गठबन्धन गरी लड्नेहरूमध्ये एक थिए ।

कार्करको युद्धको विषयमा बाइबलमा उल्लेख नगरिए तापनि हामी प्रस्ट हुन सक्छौँ कि आहाब शक्तिशाली तथा धनी राजा थिए जो आफ्नो शासनकालमा विभिन्न युद्धमा संलग्न भए । उदाहरणको लागि, अरामीहरूविरुद्ध तिनको विजयलाई पढ्न सक्नुहुन्छ, “इस्राएलका राजा अगि बढ़े, र घोड़ाहरू र रथहरूलाई जिते, र अरामीहरूको ठूलो नाश गरे” (१ राजा २०:२१) ।

कुर्ख स्तम्भले इस्राएली राजा आहाबको अस्तित्व मात्र पुष्टि गर्दैन तर ‘इस्राएल’ को नाउँ उल्लेख गर्ने चारवटा खोजमध्ये यो एउटा हो । यसले इस्राएल र सिरियबिचको शान्तिपूर्ण सम्बन्ध तथा सैनिक गठबन्धनको पनि साक्षी दिन्छ । यस खोजले नवौँ शताब्दी ख्रिस्टपूर्वमा उत्तरी राज्य इस्राएलको शक्तिलाई पनि प्रदर्शित गर्छ ।

Facebook Comments

Powered by Youth Circle