बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो

“ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए” (लूका २:१-३) ।

पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय भूमिका खेल्छन् । तिनी परिचित ख्रिस्टमस कथाको आरम्भमा नै देखा पर्छन् । जनगणनाको लागि हुकुम जारी भएपछि आफ्नी पत्नी मरियमलाई लिएर योसेफ आफ्नो पुर्ख्यौली घर बेथलेहेम गए जहाँ मरियमले येशूलाई जन्म दिइन् । यसरी जनगणनाको लागि हुकुम जारी गर्दा थाहै नपाई अगस्टसले अगमवक्ता मीकाद्वारा ७०० वर्षअगि बोलिएका भविष्यण पूरा गर्न मदत गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ” (मीका ५:२) ।

अगस्टस प्रथम रोमी सम्राट् थिए जसले २७ ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द १४ सम्म शासन गरे । झन्डै ४१ वर्ष राज्य गरेका तिनलाई मानव इतिहासमै एक महान् अगुवाको रूपमा आदर गरिन्छ । तिनी बुद्धिमानी र दयालु शासक थिए । तिनको शासनकालमा साम्राज्यमा तुलनात्मक रूपमा शान्ति कायम थियो र रोमी साम्राज्यले उन्नति गरेको थियो । अक्टाभियन पनि भनेर चिनिने अगस्टसको जन्मको नाउँ गायस अक्टाभियस थियो । ६३ ख्रिस्टपूर्वमा रोममा जन्मेका तिनी ७६ वर्षको उमेरमा ख्रिस्टाब्द १४ मा यस धरतीबाट बिदा भए ।

३१ ख्रिस्टपूर्वमा एक्टिअमको युद्धमा अगस्टसको जित तिनको उदयको एउटा महत्त्वपूर्ण क्षण बन्यो । इटाली, फ्रान्स, स्पेन, लिबिया र बाल्कनलाई आफ्नो पक्कडमा पारिसकेका अगस्टसले अलेक्ज्यान्डर महान्‌को उदाहरण पछ्याउँदै मिश्रलाई आफ्नो कब्जामा पारे । अब रोमी गणतन्त्र रोमी साम्राज्यमा परिणत भयो । साम्राज्यभरि नयाँ शासक अर्थात् अगस्टसका शालिकहरू निर्माण गरिए । मानवीय अगुवा अर्थात् अक्टाभियनको रूपमा पहिले नै तिनका सयौँ शालिक निर्माण गरिएका भए तापनि २७ ख्रिस्टपूर्वमा रोमी राज्यसभाले तिनलाई अगस्टस (अर्थ: प्रतापी) को उपाधी दिएपछि तिनी राजनीतिक रूपमा शक्तिशाली बने । यो प्रतिष्ठाले तिनको नयाँ तस्बिरको उदय गरायो र तिनका फरक किसिमका शालिकहरू निर्माण हुन थाले जसमध्ये एउटा हो, मेरोईमा फेला पारिएको तिनको शिर ।

कैसर अगस्टससित सम्बन्धित विभिन्न पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् जसमध्ये एउटा पूर्वोत्तर अफ्रिकी मुलुक सुडानको मेरोईमा फेला पारिएको तिनको शिर हो । मेरोईमा भग्नावशेषमा परिणत भएको मन्दिरमुनि फेला पारिएकोले यसलाई मेरोई शिर पनि भनेर चिनिन्छ ।

काँसाले बनेको यो शिर १९१० मा फेला पारिएको हो । यसको उचाइ ४६.६ सेन्टिमिटर, चौडाइ २६.५ सेन्टिमिटर र गहिराइ २९.४ सेन्टिमिटर रहेको छ । यसलाई हाल लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा राखिएको छ । २७-२५ ख्रिस्टपूर्वमा रचना गरिएको यो करिब २,०५० वर्ष पुरानो शिल्पकला हो जुन बेला अगस्टस यस धरतीमा बाँचेका थिए । आफू सम्राट् बनेका एक दुई वर्षभित्रमा यो शालिक बनाइएको थियो । यो शिर पूर्ण शालिकको हिस्सा हो ।

ब्रिटिस पुरातत्त्वविद् जोन गार्स्टेङद्वारा यस खोजलाई पत्ता लगाइएको थियो । रोम र सुडानबिचको दुरीलाई ख्याल गर्दा यसलाई उदेककै खोज मान्नुपर्छ । तातो र सुक्खा अवस्थाको कारण यो प्रतिमा ,१९०० वर्षसम्म जमिनमुनि सुरक्षित नै रह्यो ।

Facebook Comments

Powered by Youth Circle