बाइबलको विश्वव्यापी प्रभाव

पुस्तकको नाम : बाइबलको विश्वव्यापी प्रभाव
सम्पादक : कमल अधिकारी
पृष्‍ठ सङ्ख्या : २०४
मूल्य रु. : १८०
प्रकाशक : कमल अधिकारी
प्रकाशन मिति : २०२१

 

यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । यो एउटा अद्वितीय पुस्तक हो । यसका ६ ओटामध्ये पहिलो पाठले अनेकताका बाबजुद पनि बाइबलमा एकत्व पाइन्छ भनी सम्बोधन गर्छ भने प्रचार-प्रसारको दुनियाँमा बाइबलले इतिहास रचेको छ भनी दोस्रो पाठमा चर्चा गरिएको छ । तेस्रो पाठ बाइबलको अनुवादसित सम्बन्धित छ जहाँ मानव इतिहासमा बाइबल सबैभन्दा बेसी अनुवाद भएको पुस्तक हो भन्ने तथ्याङ्क प्रस्तुत छ भने चौथो पाठमा मनग्गे सतावटको बाबजुद पनि बाइबल अविनाशी पुस्तक हो भनी छर्लङ्ग पारिएको छ । पाठ पाँचमा बाइबलको ईश्वरीय प्रेरणाको एउटा मजबुतको साक्षीको रूपमा पूरा भएका भविष्यवाणीहरूलाई प्रस्तुत गरिएको छ भने पाठ छमा बाइबललाई अन्य धर्मग्रन्थहरूसित तुलना गरिएको छ ।

बाइबल वैज्ञानिक पुस्तक हो भनी भाग दुईमा दाबी गरिएको छ । हामीलाई थाहा छ कि बाइबल कुनै वैज्ञानिक पाठ्यपुस्तक भने होइन । तरै पनि यसले विज्ञानसित सम्बन्धित विषयहरूबारे उल्लेख गर्दा यो शानदार ढङ्गमा साँचो साबित भएको छ । बाइबल प्राचीन धार्मिक ग्रन्थ भए तापनि आधुनिक औषधी विज्ञानले प्रमाणित गरेका तथ्यहरू यसमा पाइन्छन् भनी पाठ सातमा पढ्न पाइन्छ । पाठ आठले खगोल विज्ञानबारे सम्बोधन गर्छ जसमा कतिपय खगोल विज्ञानसित सम्बन्धित तथ्यहरू बाइबलमा हजारौँ वर्ष पहिले नै लेखिएका थिए भनी जिकिर गरिएको छ । पाठ नौमा बाइबलमाथि विश्वास गर्ने वैज्ञानिकहरूको सङ्क्षिप्त जीवनी पाउनुहुन्छ जसले बाइबल सामान्य पुस्तक मात्र नभई वैज्ञानिहरूले पनि विश्वास गर्ने उच्च कोटीको ग्रन्थ रहेछ भनी पाठकलाई विश्वस्त पार्न खोज्छ ।

भाग तीनले बाइबललाई ऐतिहासिक रचनाको रूपमा उभ्याउँदछ । बाइबल एउटा यस्तो ग्रन्थ हो जसमा भूगोलसाथै व्यक्तिका नाउँहरू र विविध संस्कृतिको बारेमा उल्लेख गरिएको छ । आधुनिक पुरातत्त्वविद्याले पुरानो र नयाँ करारमा उल्लिखित कैयौँ ऐतिहासिक सन्दर्भहरूको एकपछि अर्को गर्दै पुष्टि गरिरहेको छ भनी पाठहरू दश र एघारमा प्रस्ट पारिएको छ । पाठहरू बार्‌ह र तेर्‌ह बाइबलको विश्वसनियतासित सम्बन्धित छन् । अन्य ऐतिहासिक कृतिहरूको जस्तै हामीसित बाइबलको पनि अटोग्राफ अर्थात् मूल पाण्डुलिपि छैन । हामीसँग बाइबलका मूल लेखकहरूद्वारा लिखित दस्ताबेजहरूका प्रतिलिपि मात्र छन् । तब स्वाभाविक प्रश्नको उदय हुन्छः के हामीले एक्काइसौँ शताब्दीमा पढ्ने बाइबल सही प्रकारले प्रतिलिपि हुँदै हाम्रो हातमा आइपुगेको छ त ? पाठहरू बार्‌ह र तेर्‌हले तपाईंलाई सकारात्मक उत्तर दिन्छन् । बाइबलका लेखकहरूले जस्तो लेखेका थिए सारमा त्यस्तै वचन हामीसम्म आइपुगेको छ भनी अध्ययनले देखाएको छ भनी यी दुवै पाठमा छर्लङ्ग पारिएको छ ।

भाग चार बाइबलको प्रभावसित सम्बन्धित छ । यसमा जम्माजम्मी आठवटा पाठ छन् । बाइबल संसारमा सर्वाधिक प्रभावशाली पुस्तक हो भन्ने दाबीमा थोरैले मात्र बादविवाद गर्लान् । साहित्य, सङ्गीत, सभ्यता, आधुनिक विज्ञान, राजनीति, मानव अधिकार, परोपकारी अभ्यास, नैतिक शिक्षामा बाइबलको उल्लेखनीय प्रभाव देख्न पाइन्छ भनी यस भागमा चर्चा गरिएको छ ।

बाइबल परिवर्नत गर्ने पुस्तक हो भनी भाग पाँचले प्रस्ट पार्छ । बाइबलले मानिसहरूका जीवन मात्र परिवर्तन गरेको छैन तर समाजहरू पनि रूपान्तरण गरेको छ र बाइबलकै मूल्य-मान्यतामा आधारित रहेर मानव इतिहासमा अभ्यास गरिँदै आएका कुरीतिहरू पनि उन्मूलन भए भनी यस भागमा उल्लेख गरिएको छ ।

सारमा यो बाइबलको बारेमा लिखित कृति हो । यसमा २४ जना लेखकले योगदान पुर्‍याएका छन् । फरक-फरक पृष्ठभूमि र भूगोलका लेखकहरूद्वारा लेखिएको भए तापनि सबै पाठ एउटै ढाँचामा छन् । प्रत्येक पाठमा तपाईंले शीर्षक, परिचय, मुख्य भाग र निष्कर्ष पाउनुहुने छ । हरेक पाठको मुख्य भागलाई ७ ओटा बुँदामा विभाजन गरिएको छ ।

Facebook Comments

Powered by Youth Circle