कोपा अमेरिका जितेपछि मेस्सीले लेखे, “परमेश्वरलाई धन्यवाद होस्”

लियो मेस्सी भनेर पनि चिनिने तिनको पूरा नाउँ लियोनेल अन्द्रेस मेस्सी हो । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तिनको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनामा भएको थियो । अक्सर तिनलाई संसारकै सर्वोत्कृष्ट खेलाडीको रूपमा आदर गरिन्छ । धेरैले तिनलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी पनि मान्छन् ।

मेस्सी इतिहासका रचयिता हुन् । ४७४ गोल गरी मेस्सीले आफूलाई लालिगामा सर्वाधिक गोलकर्ताको रूपमा उभ्याएका छन् । लालिगामा ३६ ओटा ह्याट्रिक गरी तिनले अर्को रेकर्ड पनि राखेका छन् । यति मात्र नभएर लालिगामा १९२ ओटा गोल गर्न मदत पुर्‍याई तिनले अर्को इतिहास पनि रचेका छन् । देश र क्लबको लागि ७५० भन्दा बेसी गोल गरिसकेका मेस्सी एउटै क्लबको लागि सबैभन्दा बेसी गोल गर्ने खेलाडी हुन् ।

कुनै बेला अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका म्यानेजर जर्ज साम्पोलीले भनेका थिए, “यो मेस्सीको अर्जेन्टिना हो, मेरो होइन ।” राष्ट्रिय टोलीको लागि मेस्सी कति महत्त्वपूर्ण छन् भनी यस कथनले छर्लङ्ग पार्छ ।

२०११ देखि राष्ट्रिय टोलीका कप्तानी सम्हालेका मेस्सी धार्मिक दृष्टिकोणबाट ख्रीष्टियान हुन् । गोल गरेपछि तिनले आफ्ना औँला आकाशतिर तेर्साएका तपाईंले ख्याल गर्नुभएको छ होला । यसो गर्नुको कारण यही हो कि तिनी आफ्ना गोलहरू आफ्नी हजुरआमालाई समर्पण गर्न चाहन्छन् जसले तिनलाई विश्वकै सर्वाधिक प्रसिद्ध खेल फुटबल परिचित गराएकी थिइन् । तिनले आफ्नो दाहिने पाखुरामा ख्रीष्टको टाटु खोपेका छन् । कतिपय प्रतिवेदनअनुसार यो तिनको धार्मिक उद्भवलाई आदर देखाउने तरिका हो । खेल हुँदा तिनले क्रुसको चिन्ह बनाएको पनि देखिएको छ ।

क्लब स्तरमा मनग्गे उपाधि जितेका भए तापनि हालै सम्पन्न फाइनलमा ब्राजिलमाथिको जित मेस्सीको करिअरमा सम्झनलायक जित साबित भएको छ । ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि हात पारेपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले फेसबुकमा लेखे, “परमेश्वरलाई धन्यवाद होस् ।” आफ्नो सफलतामा तिनले परमेश्वरलाई धन्यवाद दिए । मेस्सी एक खेलाडी भएकाले परमेश्वरको अस्तित्वको लागि तिनीसित वैज्ञानिक साक्षी नहोलान् तर परमेश्वरलाई सम्झनु तर्कसङ्गत नै छ भनी तिनले बुझे ।

यो सम्पूर्ण विश्व अनन्त नभई यसको आरम्भ भएकोले र यो आफै आरम्भ हुन नसक्ने भएकोले यसको पछाडि आरम्भकर्ता हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ । यो सारा विश्व व्यवस्थित रचना भएकोले र व्यवस्थित रचना आफै उत्पन्न हुन नसक्ने भएकोले यसको पछाडि रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ । संसारमा नैतिकता अस्तित्वमा भएकोले र यो आफै आउन नसक्ने भएकोले यसको पछाडि नैतिकदाता हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।जीव आफै उत्पत्ति नहुने भएकोले यसको पछाडि जीवनदाता हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ । मानवीय दिमाग अकल्पनीय रूपमा जटिल भएकोले र यो आफै उत्पन्न हुन नसक्ने भएकोले यसको पछाडि बुद्धिमान रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।

Facebook Comments

Powered by Youth Circle