आफ्ना छोराछोरीहरूलाई कसरी परमेश्वरको बाटोमा हुर्काउने ?

परमेश्वरको अस्तित्वको लागि के साक्षी छ ? कसरी असल परमेश्वरले दुष्ट्याइँ र दु:खकष्ट अनुमति दिन सक्नुहुन्छ ? किन परमेश्वरले कनानीहरूको नरसंहार गर्ने आज्ञा दिनुभयो ? कसरी प्रेमिलो परमेश्वरले मानिसहरूलाई नरकमा पठाउन सक्नुहुन्छ ? के विश्वास तर्कको विपरीत छ ? वस्तुपरक र भावपरक सत्यताको बिचमा के भिन्नता छ ? के ख्रीष्टियानहरू नास्तिकहरूभन्दा कम प्रतिभाशाली हुन्छन् ? के येशूले साँच्चै आफू परमेश्वर हुनुभएको दाबी गर्नुभयो ? के बाइबलमा भूल र अन्तर्विरोधहरू छन् ? यो पृथ्वी कति वर्ष पुरानो छ ? विकासवाद के हो ? यसका साक्षीसाथै चुनौतिहरू के-के हुन् ? बौद्धिक रचना भनेको के हो ? Keeping Your Kids on God’s Side: 40 Conversations to Help Them Build a Lasting Faith नामक पुस्तकमा भएका ४० ओटा प्रश्नमध्ये यी केही हुन् ।

पुस्तक पठन यात्रामा यो मेरो ९८ औँ पुस्तक हो । नतासा क्रेन यसका लेखिका हुन् । बुबाआमाले आफ्ना बालबालिकाहरूलाई तिनीहरूको विश्वासको पक्षमा वकालत गर्न सिकाउनुपर्छ भन्ने धारणामा उनी कटिबद्ध छिन् । मैले निकै रुचि लिएर यो कृति पढेँ र यसलाई सक्न १३ दिन (डिसेम्बर १-१३) लाग्यो । ख्रिस्टाब्द २०१६ मा प्रकाशित यस पुस्तकमा २७४ पृष्ठ छन् ।

आफ्नो कृतिलाई लेखिकाले ५ भागमा विभाजन गरेकी छन् र प्रत्येक भागमा ८/८ ओटा पाठ छन् । पहिलो भागमा परमेश्वरसित सम्बन्धित विषयहरू सम्बोधन गरिएका छन् भने दोस्रोमा सत्यता र विश्वदृष्टिको बारेमा । तेस्रो भाग येशूको बारेमा समर्पित छ । चौथो भाग बाइबलको विषयमा हो भने पाँचौँ विज्ञानको विषयमा ।

हामी विविध विचारले जेलिएको संसारमा बाँचेका छौँ । प्रविधिको विकाससँगै विश्वको एउटा कुनामा सृजित विचार एकै छिनमा अर्को कुनामा पुग्न पुग्छ । यस्तो अवस्थामा हाम्रा छोराछोरीहरू गैरख्रिस्टियान अवधारणाको सिकार बन्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । आफ्ना छोराछोरीहरूलाई ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्न सिकाउनुपर्छ भन्नेहरूका लागि यो एउटा महत्त्वपूर्ण कृति हो ।

परमेश्वर, बाइबल, येशू, विज्ञान, विश्वदृष्टिजस्ता विभिन्न विषयहरूमा छोराछोरीहरूले बुबाआमालाई प्रश्न सोध्न सक्छन् । यो पुस्तकले बुबाआमालाई यस्ता विषयहरूबारे सुसज्जित पारी छोराछोरीहरूका कौतुहुलतालाई वैज्ञानिकसाथै तार्किक ढङ्गमा जवाफ दिन सक्षम तुल्याउँछ ।

Facebook Comments

Powered by Youth Circle