गैरख्रिस्टियान स्रोतहरूबाट येशूको बारेमा पत्ता लागेका १२ ओटा सत्यता

नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे । पुनरुत्थान हुनुभएका मुक्तिदाताका प्रत्यक्षदर्शी पावलले १३ ओटा पत्र कोरे । येशूको ऐतिहासिक अस्तित्वको लागि नयाँ करारमा अखण्डनीय साक्षीहरू समावेश छन् ।

तथापि कल्पना गरौँ कि हामीसित एकप्रति बाइबल पनि छैन र इतिहासमा बाइबल नै लेखिएन । यस्तो अवस्था हुँदो हो त येशू ख्रीष्टको बारेमा हामीले के-कस्ता तथ्यहरू जम्मा पार्न सक्थ्यौँ होला ? के हामीसित येशू ख्रीष्टको बारेमा बताउने गैरख्रिस्टियान स्रोतहरू छन् त ?

येशूको जीवनीको १५० वर्षभित्रमा उहाँको बारेमा बताउने १० ओटा गैरख्रिस्टियान स्रोत विद्यमान छन् भन्दा तपाईं छक्क पर्नुपर्दैन । ती बाइबलेतर (बाइबलभन्दा बाहिरका) स्रोतहरूबाट हामी येशूको बारेमा निम्नि लिखित १२ ओटा महत्त्वपूर्ण सत्यता थाहा पाउन सक्छौँ भनी इतिहासकारहरूले पत्ता लगाइसकेका छन् ।

(१) येशू तिबेरिअसको शासनकालमा बाँच्नुभयो ।

(२) उहाँ सदाचारी हुनुहुन्थ्यो ।

(३) उहाँले अचम्मका कामहरू गर्नुभयो ।

(४) याकूब नाउँका उहाँका भाइ थिए ।

(५) धेरैले उहाँ मसीह हुनुहुन्थ्यो भनी विश्वास गर्थे ।

(६) पन्तियस पिलातसको समयमा उहाँलाई क्रूसमा टाँगियो

(७) यहूदी निस्तार–चाडको सन्ध्यामा उहाँलाई क्रूसमा झुण्ड्याइयो ।

(८) उहाँको मृत्यु हुँदा भूकम्प गएको थियो र अन्धकार छाएको थियो ।

(९) उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभयो भनी उहाँका चेलाहरूले विश्वास गरे ।

(१०) उहाँका चेलाहरू आफ्नो विश्वासको निम्ति मर्न इच्छुक थिए ।

(११) ख्रिस्टियमत तीव्र रूपमा फैलँदै रोमसम्म पुग्यो ।

(१२) उहाँका चेलाहरूले रोमीसाथै ग्रिक देवी देवताहरूलाई इन्कार गरी येशूलाई परमेश्वरको रूपमा पुज्थे ।

Facebook Comments

Powered by Youth Circle