द प्यासन अफ द क्राइस्ट— प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको फिल्म

“यो प्रेम, आशा, विश्वास र क्षमाको बारेमा भएको चलचित्र हो । उहाँ [येशू] सारा मानव-जातिका लागि मर्नुभयो; उहाँले हामी सबैका निम्ति दुःख भोग्नुभयो । यो त्यो आधारभूत सन्देशमा फर्कने समय हो । संसार बौलाएको छ । हामी सबैले थोरै भए पनि प्रेम, विश्वास, आशा र क्षमालाई प्रयोग गर्न सक्छौँ ।” चलचित्र द प्यासन अफ द क्राइस्टका निर्देशक मेल गिब्सोनले उक्त मुभीबारे भने ।

२००४ मा रिलिज भएको यो चलचित्रले खास गरी मत्ती, मर्कूल, लूका र यूहन्नाका सुसमाचारहरूमा वर्णन भएअनुसार येशूको वेदनालाई वर्णन गर्छ । १२७ मिनेट लामो यो फिल्म मूलतः येशूको जीवनीका आखिरी बार्‍ह घण्टामा केन्द्रित छ । यसलाई इटलीमा छायाङ्कन गरिएको थियो । यो फिल्म बनाउन ३ करोड अमेरिकी डलर खर्च भएको थियो भने प्रचार-प्रसारको लागि थप १ करोड ५० लाख डलर खर्च गरिएको थियो ।

फिल्म रिलिज भएको हप्तामा नै यसले ८ करोड डलर कमायो । अमेरिकामा मात्रै यसले ३७ करोड डलरको आम्दानी गर्‍यो । यस चलचित्रले विश्वव्यापी बजारबाट जम्माजम्मी ६१ करोड डलर कमाउन सफल भयो । विविध इनामहरूका अतिरिक्त २००५ मा यसले तीनवटा एकाडेमी अवार्ड प्राप्त गर्‍यो । यसले ख्रीष्टियान समुदाय र संसारमा व्यापक प्रभाव पारेको थियो ।

फिल्ममा येशूको भूमिकामा देखा पर्ने कलाकार अमेरिकी अभिनेता जिम कभिजल हुन् । माया मोर्गन्स्थन कन्या मरियमको रूपमा देखा परेकी छन् भने मोनिका अन्ना मरियम मग्दलिनीको भूमिकामा । रोमानियामा जन्मेकी माया अभिनेत्री हुन् भने इटलीमा जन्मेकी मोनिका अभिनेत्रीसाथै मोडल हुन् ।

फिल्मको कथावस्तुअनुसार येशू ख्रीष्ट गेतसमनीको बगैँचामा प्रार्थना गर्नुहुन्छ, जब कि उहाँका तीन चेला अर्थात् पत्रुस, याकूब र यूहन्ना सुत्छन् । उहाँले एकान्त ठाउँमा प्रार्थना गर्नुहुँदा शैतान देखा परी त्यसले उहाँको परीक्षा गर्छ । सर्पको शिर कुच्च्याई उहाँले शैतानलाई हप्काउनुहुन्छ । यहूदा इस्करियोत नाउँका येशूका एक चेलाको नेतृत्वमा आएका मानिसहरूको समूहले येशूलाई गिरफ्तार गर्छ र त्यसपछि जाँचपडताल सुरु हुन्छ । येशूलाई क्रुसमा टाँगिन्छ । क्रुसमा टाँगिनुहुँदा उहाँले आफूलाई दुःख दिनेहरूलाई क्षमा दिइयोस् भनी परमेश्वर पितासित प्रार्थना चढाउनुहुन्छ । उहाँले आफ्नो आत्मा पितालाई सुम्पनुहुन्छ अनि प्राण त्याग गर्नुहुन्छ । त्यहाँ विभिन्न आश्चर्यपूर्ण दृश्यहरू देखा पर्छन् । नरकको गहिराइबाट शैतानले हारको चित्कार निकाल्छ । क्रुसबाट उहाँको मृत शरीरलाई झिकेर गाडिन्छ अनि पुनरुत्थान भई उहाँ मृत्युमाथि विजयी हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle