कसरी मोशाले परमेश्वरसित आमनेसामने कुरा गर्न सके (प्रस्थान ३३:११) ?

प्रस्थान ३३:२० अनुसार परमेश्वरको अनुहार हेर्ने व्यक्तिको जीवनमा घातक परिणाम आइपर्छ, “अनि उहाँले भन्‍नुभयो, ‘तर तैंले मेरो अनुहार हेर्न सक्‍दैनस्‌, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्‍दैन’ ।” तर मोशाले परमेश्वरसित आमनेसामने कुराकानी गर्थे भनी उही अध्यायमा लेखिएको छ, “परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित कुरा गर्दछ । तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्‍यस पालबाट निस्‍कँदैनथे” (पद ११) । कसैले परमेश्वरको अनुहार हेर्न सक्दैन भने कसरी मोशाले परमेश्वरसित आमनेसामने कुरा गर्न सके त ? उहाँसित आमनेसामने बातचित गरेर पनि तिनी कसरी बाँच्न सके ?

बाइबल धर्मशास्त्रअनुसार “परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ” (यूहन्ना ४:२४) । उहाँ आत्मा हुनुभएकोले उहाँको कुनै भौतिक शरीर हुँदैन । उहाँ अदृश्य हुनुहुन्छ । तपाईंको र मेरोजस्तै परमेश्वरका हात, कान, आँखा, अनुहार भन्ने कुराहरू हुँदैनन् ।

शब्द ‘आमनेसामने’ लाई हुबहु र आलङ्कारिक दुवै किसिमले व्यक्त गर्न सकिन्छ । एउटै समयमा दुई जना व्यक्तिले एक-अर्काको अनुहार देख्ने गरी तिनीहरू हुबहु आमनेसामने कुराकानी गर्न सक्छन् ।

तर “परमप्रभु मोशासित … आमनेसामने कुरा गर्नुहुन्‍थ्‍यो” (प्रस्थान ३३:११) भन्ने अभिव्यक्तिलाई त्यही प्रसङ्गमा बुझिनुपर्छ । यहाँ शब्द ‘आमनेसामने’ लाई आलङ्कारिक अर्थमा प्रयोग गरिएको छ । यसले परमेश्वर र मोशाबिचको खुलापन र मित्रतालाई जाहेर गर्छ । यो घनिष्ठ सम्बन्धलाई व्यक्त गर्ने अभिव्यक्ति हो ।

Facebook Comments

Powered by Youth Circle