१० वर्षको कलिलै उमेरमा तिनले येशूलाई ग्रहण गरे । ६ वर्षपश्चात् तिनी एउटा मण्डलीको सदस्य बने । तिनी पास्टर बनुन् भनी तिनकी आमाले अपेक्षा गरे तापनि तिनको जीवनमा परमेश्वरको योजना अर्कै थियो । १८ लागेपछि तिनको देश गृहयुद्धको चपेटामा पर्यो ।
पछि तिनी एक सफल वकिल बने । तिनकी पत्नी बाल सङ्गतिकी शिक्षिका थिइन् । यो दम्पतीले जीवनमा निकै ठुलो सङ्घर्ष गर्नुपर्यो । तिनीहरूले आफ्ना दुई जना सन्तान गुमाएपछि पत्नीचाहिँ झन्डै विक्षिप्त बन्न पुगिन् । तथापि पति उनीप्रति अन्त्यसम्मै विश्वासयोग्य रहे ।
निकै सङ्घर्षपश्चात् तिनी अमेरिकाको पच्चिसौँ राष्ट्रपतिमा चुनिए । तिनको नाउँ हो, विलियम म्याककिन्ली ।
१८४३ मा अमेरिकामा जन्मेका म्याककिन्ली १८९७-१९०१ सम्म राष्ट्रपति पदमा रहे । राष्ट्रपतिमा चुनिएपछि समुद्घाटन समारोहमा तिनले आफ्नो बाइबललाई चुम्बन गरेका थिए जुन बाइबल सोलोमनको प्रार्थना भएको खण्डमा खोलिएको थियो, “अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र ?” (२ इतिहास १:१०) । आफ्नो शासन कालमा तिनले सर्वशक्तिमान् परमेश्वरको अगुवाइ खोज्नेथिए भनी राष्ट्रपति विलियमले घोषणा गरेका थिए । म्याककिन्लीको ख्रीष्टियान विश्वास तिनका राजनीतिक नीतिहरूमा अक्सर परावर्तित भएको थियो ।
१९०१ मा आफूलाई गोली हान्ने व्यक्तिलाई म्याककिन्लीले सार्वजनिक रूपमा क्षमा दिएका थिए । तिनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तिनलाई बचाउने डाक्टरहरूको प्रयास निरर्थक हुँदै थियो भनी तिनले महसुस गरे र भने, “हे भद्रभलाद्मीहरू हो, कोसिस गर्नु निरर्थक हुन्छ । मलाई लाग्छ अब हामीले प्रार्थना गर्नुपर्छ ।” तिनले प्राण त्याग गर्ने बेलामा तिनले आफूलाई मनपर्ने भजनका शब्दहरू गुनगुनाएको सुनिएको थियो, “ईश्वरको छेवैमा जाँदै छु म ।”
यी तिनै राष्ट्रपति थिए जसले बाइबलले मुलुकमा ल्याउन सक्ने प्रभावबारे यसरी व्यक्त गरेका थिए, “हामी जति धेरै यस उदेकको पुस्तक [बाइबल] लाई गहन रूपमा अध्ययन गर्छौं र यसका ईश्वरीय आदेशहरूलाई ध्यान दिएर पालन गर्छौं, त्यति नै धेरै हामी असल नागरिकहरू बन्ने छौँ र हाम्रो देशको गन्तव्य उच्चतर हुने छ ।”