येशूको विश्वव्यापी प्रभावबारे ९ ओटा घतलाग्दा भनाइ (भाग २)

व्यक्तिगत रूपमा नासरतको येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ र विश्वास राखे तापनि झन्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको छ । … उहाँको जन्मबाट नै प्रायजसो मानव–जातिले पात्रोको आरम्भ गर्छ । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन् ।

जारोस्लाम पेलिकान, इतिहासकार

दुई हजार वर्ष बितिसकेको छ तरै पनि उहाँको कथा सकिएको छैन । नासरतका येशू जो पहिलो शताब्दीको दुर्गम गालीलबाट आउनुभएको यहुदी हुनुहुन्थ्यो, उहाँ विनाशङ्का पृथ्वीको धरातलमा बाँच्नुहुने सबैभन्दा प्रसिद्ध र सबैभन्दा प्रभावशाली मानिस हुनुहुन्थ्यो ।

येशूका अनुयायीहरू विश्वको हरेक राष्ट्रमा बस्छन् । तिनीहरूले हजारौँ भाषामा उहाँको बारेमा पढ्छन् र उहाँको विषयमा बताउँछन् । तिनीहरूका लागि संसारको सृष्टि र गन्तव्य उहाँमा नै निर्भर छन् जो पूर्णतः पराभौतिक र अदृश्य परमेश्वरको पूर्ण मानिससाथै अदृश्य बिम्ब हुनुहुन्छ । उहाँले नै तिनीहरूका संस्कृति, विश्वासको सार र आकाङ्क्षामा जीवन प्रदान गर्नुहुन्छ ।

मर्कूस बोकमुहेल, लेखकसाथै प्राध्यापक

येशूको समानता वा सुसमाचारको नजिक पुग्ने कुनै पनि कुरो पत्ता लगाउन म इतिहासमा व्यर्थैमा खोजी गर्दछु । … राज्यहरू टलेर जान्छन्; सिंहासनहरू ढल्छन् तर मण्डली रहिरहन्छ ।

नेपोलियन बोनापार्ट, फ्रान्सेली सम्राट्

मानवीय इतिहासमा अन्य कुनै पनि व्यक्तिको बारेमा भन्दा येशूको बारेमा बेसी कविताहरू लेखिएका छन्; बेसी कथाहरू भनिएका छन्; बेसी चित्रहरू कोरिएका छन् र बेसी गीतहरू गाइएका छन् किनकि यस्ता माध्यमहरूद्वारा नै मानवीय ह्रदयको गहनतम प्रशंसालाई पर्याप्त मात्रामा व्यक्त गर्न सकिन्छ ।

सिन्थिया पर्ल माउस, लेखिका

ख्रिस्टियमतको जन्मले पाश्चात्य संसारको मुहारलाई सदाको लागि परिवर्तन गरिदियो ।

जर्ज सार्टोन, रसाएनशास्त्रीसाथै इतिहासकार

प्राचीन संसारमा उहाँका शिक्षाहरूले नैतिकताको पाशविक स्तरलाई माथि उठाए; शिशु हत्यालाई रोके; मानवीय जीवनको मूल्यलाई वृद्धि गरे; स्त्रीहरूलाई मुक्त गरे; दास प्रथालाई निर्मूलन गरे; परोपकार र राहतसम्बन्धी संस्थाहरू जन्माए; अस्पतालहरूको सृजना गरे; अनाथालयहरूको स्थापना गरे र स्कुलहरू खोले ।

पावल माइर, इतिहासकारसाथै उपन्यासकार

[डाँडाको उपदेश (मत्ती ५–७)] मानवीय आचरणको लागि उच्चतम मापदण्ड हो । यो मानवीय कलाको उच्चतम नमुना हो । सबै धर्मको भित्री आत्मा त्यहीँ प्रकट गरिएको छ । त्यहीँ नै व्यक्तिले सबै सामाजिक रूपान्तरणका अभियानहरूको उद्गमस्थान र गन्तव्यको आविष्कार गर्छ ।

तोयोहिको कागवा, ख्रीष्टियान शान्तिवादीसाथै सुधारक

उहाँ त्यस्तो मानिस हुनुहुन्थ्यो जसले कसैलाई चोट पुर्‍याउनुभएन; जसले निष्खोट जीवन जिउनुभयो अनि प्रेम र शान्तिबारे जसका शिक्षाहरू विश्वव्यापी रूपमा प्रशंसा गरिएका छन् ।

दिनेस डिसुजा, रक्षाशास्त्रीसाथै लेखक

[म ख्रीष्टियान भएपछि] मेरो चरित्र, मूल्य–मान्यता, नैतिकता, प्राथमिकता र सम्बन्धमा शृङ्खलाबद्ध सकारात्मक परिवर्तनहरू देखा परेका छन् । मैले ख्रीष्टमाथि विश्वास गरेको कारणले मलाई चिन्ने जोसुकैले पनि म एक असल पति, पिता, नागरिक र व्यक्ति हुँ भनी गवाही दिन्छ ।

लि स्ट्रोबेल, रक्षाशास्त्री, लेखकसाथै पत्रकार

Facebook Comments

Powered by Youth Circle