दृष्टिविहीन महिलाद्वारा रोपिएको सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे 

अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेका चाखलाग्दो कथा हो यो । एक जना वृद्धाले सुसमाचार सुनेपछि येशू ख्रीष्टमाथि विश्वास गरिन् । उनी दृष्टिविहीन थिइन् । उनी न लेख्न सक्थिन् न त पढ्न सक्थिन् । आफ्नो त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुद पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् । उनी मिसनरीकहाँ गइन् र फ्रान्सेली भाषामा लेखिएको बाइबल मागिन् । बाइबल हातमा पारेपछि उनले मिसनरीलाई यूहन्ना ३:१६ लाई रातो रङ्गले रङ्गाई उक्त पृष्ठलाई आफूले पत्ता लगाउने गरी कुनै चिनो लगाउन अनुरोध गरिन् । उनले के गर्न चाहेकी थिइन् भनेर मिसनरी जान्न उत्सुक थिए । त्यसैले एक दिन तिनले ती वृद्धा महिलालाई पछ्याए ।

ती महिला स्कुलका विद्यार्थीहरूलाई सुसमाचार सुनाउन जान्थिन् । स्कुल सकिएपछि विद्यार्थीहरू बाहिर निस्कँदै गर्दा उनले एक जनालाई रोक्थिन् अनि उसलाई फ्रान्सेली भाषा पढ्न आउँथ्यो कि आउँदैनथ्यो भनी सोध्थिन् । उसले आउँथ्यो भनी उत्तर दिएको खण्डमा ती महिलाले उसलाई रातो अक्षरमा भएका वचनहरू अर्थात् यूहन्ना ३:१६ पढ्न लगाउँथिन् । त्यसपछि उनले यसो भनेर सोध्थिन्, “यसको अर्थ के हो तिमीलाई थाहा छ ?” अनि उनी येशूको बारेमा बताउँथिन् । उनले यसलाई आदत नै बनाएकी थिइन् ।

उनले अचम्मको नतिजा हात पारिन् । उनले प्रभुमा डोर्‍याएका ती स्कुलका केटाहरूमध्ये चौबिस जना पास्टर बने ।

Facebook Comments

Powered by Youth Circle