ख्रीष्टियान दार्शनिकको तर्कबाट प्रभावित भई डन नास्तिकबाट डिकन बने

९० भन्दा बेसी पुस्तकका लेखक, सह–लेखकसाथै सम्पादक नर्मन गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री थिए ।

एक जना सहकर्मीलाई लिएर तिनी सुसमाचार प्रचारको लागि एउटा घरमा पुगे र तिनले ढोका ढकढक्याए ।

ढोका खोल्दै एक जना मानिसले भने, “मेरो नाउँ डन हो ।”

डनबाट अनुमति पाएपछि गेइस्लरले ईई (इभान्जलिज्म एक्सप्लोजन) मा प्रयोग गरिने दोस्रो परीक्षणात्मक प्रश्न सोधे, “मानौँ, तपाईंको मृत्यु भयो र तपाईं परमेश्वरको सामु खडा हुनुभयो अनि उहाँले तपाईंलाई सोध्नुभयो, ‘म तिमीलाई मेरो स्वर्गमा किन प्रवेश दिऊँ ?’ तपाईं के भन्नुहुन्थ्यो होला ?”

त्यस्तो प्रश्न सुनेर डन झोँक्किए । नर्मनले मनमनै प्रार्थना गरे र तिनीहरूबिचको वार्तालाप अगाडि बढ्दै गयो अनि डनले आफू नास्तिक भएको जानकारी गराए ।

नर्मनले डनलाई सोधे, “परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्ने कुरोमा के तपाईं पूर्णतः निश्चित हुनुहुन्छ ?”

एकछिन रोकिएर तिनले जवाफ दिए, “म पूर्णतः निश्चित छैनँ । परमेश्वर अस्तित्वमा हुन पनि सक्नुहुन्छ ।”

त्यसपछि दार्शनिक नर्मनले व्याख्या गरे, “त्यसो भए तपाईं वास्तवमा नास्तिक हुनुहुन्न । तपाईं अज्ञेयवादी हुनुहुन्छ । किनकि नास्तिकले भन्छ, ‘परमेश्वर हुनुहुन्न भनी मलाई थाहा छ’ र अज्ञेयवादीले भन्छ, ‘परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी मलाई थाहा छैनँ ।’”

नर्मनको व्याख्यालाई बुझेपछि डनले आफू अज्ञेयवादी भएको स्वीकार गरे । तर नर्मन तिनलाई सत्यतालाई जान्न सकिन्छ र परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी वैज्ञानिक साक्षीहरू देखाउन चाहन्थे । त्यसैले तिनले डनलाई सोधे, “अहिले तपाईंले जान्न सकिन्छ भनी स्वीकार गर्नुभएकोले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी तपाईं किन जान्न सक्नुहुन्न त ?”

डनको जवाफ थियो, “सायद, कसैले मलाई कुनै साक्षी देखाएको छैनँ ।”

डन जान्न इच्छुक थिए । त्यसैले नर्मनले तिनको हातमा फ्र्याङ्क मोरिसनद्वारा लिखित पुस्तक हु मुभ्ड द स्टोन ? नामक पुस्तक दिए ।

केही समय बितेपछि नर्मन डनलाई भेट्न गए । मोरिसनद्वारा प्रस्तुत तर्कलाई डनले “ज्यादै विश्वसनीय” भने । केही हप्ता बितेपछि डनले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरे । पछि तिनी एउटा मण्डलीको डिकन बने ।

Facebook Comments

Powered by Youth Circle