निक— हात र खुट्टाविना जन्मेका प्रेरणादायी प्रचारक

“परमेश्वरले हात र खुट्टा नभएको मानिसलाई उहाँको हात र खुट्टा हुनको लागि प्रयोग गर्न सक्नुहुन्छ भने निश्चय नै उहाँले कुनै पनि इच्छुक ह्रदयलाई प्रयोग गर्नुहुने छ ।” यो निकको भनाइ हो जो हात र खुट्टाविना जन्मे तापनि आज विश्वभरि प्रेरणादायी वक्ता कहलाइएका छन् । वर्तमान संसारमा फरक क्षमता भएका मानिसहरूका बिचमा तिनी एक आश्चर्य नै हुन् भन्दा फरक नपर्ला ।

४ डिसेम्बर १९८२ मा पिता बोरिस्लाभ र आमा दुसङ्काबाट जन्मेका निकको पूरा नाम निकोलस जेम्स भुजिसिक हो । क्षेत्रफलअनुसार संसारको छैटौँ ठुलो देश अस्ट्रेलियामा तिनको जन्म भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए जसलाई मेडिकल भाषामा टेट्रामेलिया सिन्ड्रोम भनिन्छ । तिनी किन त्यसरी जन्मे भन्नाका लागि वास्तवमा कुनै चिकित्सकीय कारण छैन । जन्मपश्‍चात् नर्सले तिनलाई आमाको सामु ल्याउँदा आमाले तिनलाई हेर्नसमेत इन्कार गरेकी थिइन् । अन्ततः निककी आमा र बुबाले आफ्नो छोरोको अवस्थालाई स्वीकार गरे र त्यसलाई “तिनीहरूको जीवनमा परमेश्‍वरको योजना” को रूपमा ग्रहण गरे ।

निकका दुईवटा ससाना कुरुप पैताला भने थिए । जन्मँदा तिनका पैतलाका औँलाहरू गाँसिएका भए तापनि कुनै कुरो समात्‍न, पाना पल्टाउन र अन्य क्रियाकलापहरू गर्न ती औँलाहरूलाई प्रयोग गर्न सकुन् भनेर शल्यक्रिया गरेर ती अलग गरिए । विद्युतीय व्हिलचिएर, कम्प्युटर र मोबाइल फोन चलाउनलाई तिनी आफ्ना पैतलाहरू प्रयोग गर्न सक्छन् । तिनले आत्महत्याको प्रयास नगरेका होइनन्, तर तिनी सफल हुन सकेनन् । तिनको यस्तो असाधारण शारीरिक अवस्थाका बाबजुद पनि तिनको बाल्यावस्था भने साधारण किसिमले बितेको थियो ।

एक दिन आमाले निकलाई अखबारमा प्रकाशित कुनै एक जना अपाङ्गता भएको मानिस देखाइन् जसले तिनलाई हौसला मिलेको थियो । त्यसपछि तिनले आफ्नो प्रार्थना गर्ने समूहमा आफ्नो मुख खोल्‍न थाले । २१ वर्षको उमेरमा तिनले स्‍नातक पूरा गरे । जम्मा ३ फिट ३ इन्च उचाइ भए तापनि तिनी सगरमाथाजस्तो उच्च दर्शन देख्छन् । मानिसहरूलाई तिनी यसरी प्रेरणा दिन्छन्, “मसित नभएको कुरोको लागि परमेश्वरसित रिसाउने वा मसित भएको कुरोको लागि परमेश्वरप्रति धन्यवादी हुने भनी दुईमध्ये एउटा छनोट गर्न सक्छु मैले ।”

ख्रिस्‍टाब्द २००५ मा निकले लाइफ विदआवट लिम्ब्स नामक अन्तर्राष्‍ट्रिय मुनाफारहित संस्था र सेवाकार्य स्थापित गरे । त्यसको दुई वर्षपछि तिनले अर्को कम्पनीको थालनी गरे । एउटा लघु फिल्ममा नायकको भूमिकामा देखा परेका निकलाई त्यसको सर्वोत्कृष्‍ट अभिनेताको पुरस्कार दिइएको थियो । निक नयाँ जन्म पाएका ख्रीष्‍टियान वक्ता हुन् ।

ख्रिस्टाब्द २००६ मा निक अमेरिका प्रस्थान गरे र २०१२ मा केनी मियाहरासित वैवाहिक बन्धनमा बाँधिए । यी दम्पत्तिलाई परमेश्‍वरले ४ सन्तान दिनुभएको छ ।

२०१० मा प्रकाशित निकको पहिलो पुस्तकलाई (लाइफ विदआउट लिमिट्सः इन्सपिरेसन फर अ रिडिक्युलस्ली गुड लाइफ) ३० ओटाभन्दा बेसी भाषामा अनुवाद गरिएको छ । तिनका डीभीडीसाथै लघु फिल्म बजारमा पाइन्छन् । तिनका अन्य कृतिहरू पनि प्रकाशित भएका छन् ।

मानवीय अपाङ्गता, आशा र जीवनको अर्थजस्ता विषयहरूमा केन्द्रित हुँदै ३७ वर्षका तिनी दुनियाँभर प्रेरणादायी प्रवचनहरू प्रस्तुत गर्छन् । संसारका झन्डै ५७ ओटा मुलुकमा तिनले तिस लाखभन्दा बेसी मानिसलाई सम्बोधन गरिसकेका छन् । स्कुल, कलेजलगायत विभिन्न थरीका मानिसहरूका बिचमा तिनले आफ्ना प्रेरणादायी प्रस्तुतीहरू बाँडिसकेका छन् । ख्रीष्‍टियान प्रचारक र प्रेरणादायी वक्‍ताको रूपमा परिचित निक यसो भन्छन्, “तपाईं जुनसुकै परिस्थितिमा पनि खुसी हुन सक्‍नुहुन्छ । तपाईंले केवल परमेश्‍वरमाथि विश्‍वास गर्न आवश्यक छ ।”

Facebook Comments

Powered by Youth Circle