ख्रीष्टको ईश्वरत्वबारे ७ ओटा तर्कसङ्गत भनाइ (भाग २)

मोशाले व्यवस्थामाथि मनन गर्न सक्थे; मुहम्मदले तरवार नचाउन सक्थे; बुद्धले व्यक्तिगत परामर्श दिन सक्थे; कन्फ्युसियसले बुद्धिमान् भनाइहरू व्यक्त गर्न सक्थे । तर यी कुनै पनि मानिस संसारका पापको निम्ति प्रायश्चित्त बन्न योग्य थिएनन् । … ख्रीष्ट मात्रै असीमित आराधना र सेवाको लागि योग्य हुनुहुन्छ ।

आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै रक्षाशास्त्री

ख्रीष्टले प्राकृतिक शक्तिहरूमाथि [आफ्नो] सामर्थ्य देखाउनुभयो जुन यी शक्तिहरूका कर्ता परमेश्वरले मात्र गर्न सक्नुहुन्छ ।

पावल ई. लिट्टिल, लेखकसाथै प्राध्यापक

सृष्टिको आश्चर्यकर्ममा परमेश्वरले मानिस बनाउनुभयो । देहधारणको आश्चर्यकर्ममा उहाँले परमेश्वर-मानव दिनुभयो ।

केनेथ ओ. ग्याङ्गल, प्राध्यापक

स्मरण रहोस्, येशू ख्रीष्ट परमेश्वर बनाइनुभएका मानिस हुनुहुन्थेन, न त मानिस बनाइनुभएका परमेश्वर हुनुहुन्थ्यो । उहाँ सिद्ध रूपमा परमेश्वर र उही समयमा सिद्ध रूपमा मानिस हुनुहुन्थ्यो ।

सी. एच. स्पर्जिन, प्रचारकसाथै पास्टर

यदि परमेश्वरले अवतार लिनुभएको थियो भने उहाँ कस्तो खालको मानिस हुनुपर्थ्यो त ? … उहाँ पापरहित हुनुभएको अपेक्षा गर्छौं हामी; उहाँ पवित्र हुनुभएको अपेक्षा गर्छौं हामी; उहाँका वचनहरू महान्‌तम भएका अपेक्षा गर्छौं हामी; मानवीय व्यक्तित्वमाथि उहाँले उदेकको शक्ति प्रयोग गर्नुभएको अपेक्षा गर्छौं हामी र उहाँले परमेश्वरको प्रेमलाई देखाउनुभएको अपेक्षा गर्छौं हामी । बाँचेका सबै मानव–जातिमध्ये येशू ख्रीष्टले मात्रै यी मापदण्डहरूलाई पूरा गर्नुभएको छ ।

जोन माकआर्थुर, पास्टरसाथै लेखक

यदि तपाईं बुद्धकहाँ गई “के तपाईं ब्रम्हाको पुत्र हुनुहुन्छ” भनेर सोध्नुभयो भने तिनले यसरी उत्तर दिन्थे होलान्, “मेरो छोरो, तिमी अझै पनि भ्रमको उपत्यकामा छौ ।” तपाईं सुकरातकहाँ गई “के तपाईं जिउस हुनुहुन्छ” भनेर सोध्नुभयो भने तिनले तपाईंलाई ठट्टामा उडाइदिन्थे होलान् । तपाईं मुहम्मदकहाँ गई “के तपाईं अल्लाह हुनुहुन्छ” भनी सोध्नुभयो तिनले पहिले आफ्नो लुगा च्यात्थे अनि तपाईंको शिर काटिदिन्थे होलान् । यदि तपाईंले कन्फ्युसियसलाई “के तपाईं स्वर्ग हुनुहुन्छ” भनी सोध्नुभयो मेरो विचारमा सम्भवतः तिनको जवाफ यस्तो हुन्थ्यो, “प्रकृतिअनुसार नमिल्ने टिप्पणी रुचिपूर्ण हुँदैन ।” ख्रीष्टले जे भन्नुभयो त्यसको आधारमा उहाँ एक महान् शिक्षक हुनुहुन्छ भन्ने दृष्टिकोण प्रश्नभन्दा बाहिर छ । मेरो विचारमा त्यस्ता कुराहरू भन्न सक्ने व्यक्ति कि पूर्ण सन्काहा हुनुपर्छ कि भने परमेश्वर ।

सी. एस. लेविस, रक्षाशास्त्रीसाथै लेखक

उहाँको विषयमा मानिसहरूले प्रायः भन्ने मूर्ख कुरा भन्नदेखि रोक्न म यहाँ प्रयास गर्दै छु । तिनीहरू भन्ने गर्छन्, “येशूलाई एक महान् नैतिक शिक्षकको रूपमा स्वीकार गर्न म इच्छुक छु, तर परमेश्वर हुँ भन्ने उहाँको दाबीलाई म स्वीकार गर्दिनँ ।” यही कुरो हो जुन हामीले भन्नै हुँदैन । एउटा मानिस जो केवल मानिस थियो र येशूले भन्नुभएका कुराहरूजस्तै भन्यो भने त्यो केवल एउटा महान् नैतिक शिक्षक हुँदैन । उहाँ कि पागल हुनुहुन्छ … कि भने नरकको शैतान हुनुहुन्छ । तपाईंले आफ्नो छनोट गर्नैपर्छ । कि त यी मानिस परमेश्वरका पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ, कि पागल मानिस वा त्यो भन्दा बढी । तपाईं उहाँलाई मूर्ख भनी थुन्न सक्नुहुन्छ; शैतान भनी थुक्न सक्नुहुन्छ; उहाँलाई मार्न सक्नुहुन्छ वा उहाँको पाउमा घोप्टो परी उहाँलाई परमप्रभु र परमेश्वर भनी पुकार्न सक्नुहुन्छ । तर उहाँ एक महान् मानवीय शिक्षक हुनुहुन्छ भन्ने प्रोत्साहित गर्ने कुनै वाहियात कुरो लिएर नआऔँ । उहाँले हामीलाई त्यो विकल्प खुला छाड्नुभएको छैन । उहाँले त्यस्तो चाहना राख्नुभएन ।

सी. एस. लेविस, रक्षाशास्त्रीसाथै लेखक

Facebook Comments

Powered by Youth Circle