च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको ह्रदयलाई छोयो

भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रिस्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो ।

यो नै यस कथाको अन्त्यजस्तो देखियो । तर परमेश्वरको योजना अर्कै थियो । एक जना मान्छे उत्सुकतापूर्वक त्यही दिन त्यो बाटो भएर सत्यताको खोजीमा भौतारिँदै थियो । बाटोमा पडिरहेको कागजको टुक्रालाई उसले हातमा लियो अनि उसको आफ्नै भाषामा लेखिएका यी वचनहरू उसले पढ्यो, “जीवनको रोटी ।”

यसको अर्थ के थियो भनी उसलाई थाहा थिएन । तर उसले आफ्ना मित्रहरूसँग सोधपुछ गर्‍यो र एक जना साथीले उसलाई भन्यो, “म तिमीलाई भन्न सक्छु । यो ख्रीष्टियान किताबको वचन हो । तिमीले त्यसलाई पढ्नुहुवदैन नत्रभने तिमी अशुद्ध हुने छौ ।” केही क्षण विचार गरिसकेपछि उसले भन्यो, “यो सुन्दर वाक्यांश समावेश भएको त्यो पुस्तकलाई म पढ्न चाहन्छु ।”  अनि उसले एउटा नयाँ करार किन्यो । त्यो वाक्यांश कहाँ थियो भनी उसलाई देखाइयो । यी प्रभु येशूका सुन्दर वचनहरू हुन्, “म जीवनको रोटी हुँ ।” जब उसले त्यस सुसमाचारलाई अध्ययन गर्न थाल्यो तब सत्यताको ज्योति उसको ह्रदयभित्र प्रवेश गर्‍यो । उसले येशू ख्रीष्टलाई स्वीकार गर्‍यो अनि ऊ सुसमाचारको प्रचारक बन्यो ।

सुसमाचारको त्यो टुक्रा उसको निम्ति वास्तवमै जीवनको रोटी बन्यो जसले उसको गहनतम खाँचोलाई तृप्त पार्‍यो ।

 

(नोटः यो अंश लेखक कमल अधिकारीको प्रेरक प्रसङ्गहरू नामक कृतिबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle