पीएलओका सदस्य तासिर सशस्त्र लडाकुबाट आत्मिक लडाकु बने

तिनको नाउँ हो, तासिर अबु सदा । तासिर सशस्त्र द्वन्द्वद्वारा प्यालेस्टाइनको स्वतन्त्रता स्थापित गर्ने उद्देश्यले स्थापित भएको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (अर्थात् पीएलओ) का सदस्य थिए । तिनी पीएलओ प्रमुख यासिर अराफतका व्यक्तिगत चालक पनि थिए ।

तासिरको जन्म ख्रिस्टाब्द १९५१ मा प्यालेस्टाइनको गाजामा भएको थियो । तिनका माता पिता साउदी अरबमा बसाइँ सरेपछि तिनी एक मुसलमानको रूपमा हुर्काइएका थिए । तिनले यहूदीहरूलाई अत्यधिक घृणा गर्थे । यहूदीहरूलाई लुकीछिपी गोली हान्ने तालिम दिइएको थियो तिनलाई । यहूदीहरूसित लडाइँ गरी तिनीहरूलाई मार्नलाई तिनी आफैले पनि केटाकेटीहरूलाई तालिम दिन्थे ।

किन तासिरले यहूदीहरूलाई यति धेरै घृणा गरेका थिए ? १९६७ मा ६ दिनसम्म लम्बिएको युद्धमा तिनका मानिसहरू यहूदीहरूबाट पराजित भएका थिए । तिनीहरू सङ्ख्यामा धेरै, आकारमा ठुलो र तिनीहरूसित बेसी हातहतियार भए तापनि तिनीहरू यहूदीहरूबाट पटक–पटक पराजित भएका थिए । त्यसैले तिनी आफै पनि यहूदीहरूको विरुद्धमा लड्ने एक योद्धा बनेका थिए । त्यस बेला तिनी लगभग १७ वर्ष मात्र पुगेका थिए ।

ख्रिस्टाब्द १९७४ मा तासिर अमेरिका पुगे । तिनले अमेरिकनहरूलाई आफूले सोचेभन्दा फरक भेट्टाए । तिनीहरू प्रेमिला र वास्ता गर्ने खालका पाए तिनले । तिनले एक अमेरिकी स्त्रीसित बिहे गरे । बिहे गर्नुको उद्देश्य त्यहाँको नागरिकता प्राप्त गर्नु मात्र थियो । त्यसपछि सम्बन्ध विच्छेद गर्ने तिनको योजना थियो । १९७९ मा तिनी अमेरिकाको नागरिक बने । प्रभु येशू ख्रीष्टको बारेमा राम्ररी बुझेपछि १९९३ मा तिनी नयाँ जन्म पाएका विश्वासी बने । तासिर यसरी सम्झन्छन्ः

“जब मैले ख्रीष्टलाई मेरो ह्रदयमा निमन्त्रणा दिएँ परमेश्वरले मेरो ह्रयमा पहिले यहूदीहरूका निम्ति र त्यसपछि मुसलमानहरूका लागि प्रार्थना गर्ने बोझ हालिदिनुभयो । परमेश्वरले तिनीहरूका निम्ति मलाई विशुद्ध प्रेम दिनुभयो । त्यस बेलादेखि यहूदीहरूसितका मेरा सबै अन्तरक्रियामा मैले तिनीहरूलाई प्रेम देखाएको छु । यो अचम्मको अनुग्रह थियो ! … यहूदीहरूप्रति भएको एउटा पलिश्तीको ह्रदयलाई पृथ्वीमा भएको कुनै पनि कुरोले शुद्ध पार्न सक्दैन । केवल ख्रीष्टको अनुग्रहले त्यसो गर्न सक्छ ।”

तासिरले दुईवटा संस्था स्थापना गरेका छन्ः होप फर इस्माएलसिड्स अफ होप । अगिल्लो संस्था सुसमाचारको लागि प्रतिबद्ध छ भने पछिल्लोचाहिँ मानव हितसित सम्बन्धित छ । कसरी इस्लामिक आतङ्कवादीबाट ख्रीष्टियान मिसनरी बने भन्ने सम्बन्धमा तिनको बारेमा एउटा पुस्तक पनि प्रकाशित भएको छ ।

यसरी तासिर आफ्ना मानिसहरूको पक्षमा लड्ने सशस्त्र लडाकुबाट ख्रीष्टको पक्षमा लड्ने आत्मिक लडाकु बनेका छन् ।

Facebook Comments

Powered by Youth Circle