प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ

आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्‌मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए । तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One Man’s Raw Journey from Shame to Grace मा लेखकले आफ्नो कथालाई उदाङ्गो पारेका छन् । पिता लुइसद्वारा छोरो आन्द्रुलाई पठाइएको एउटा पत्रलाई पनि उक्त कृतिमा समावेश गरिएको छ जसको अंश यस प्रकार रहेको छः

प्रिय आन्द्रु, …

आन्द्रु, तिमी परमेश्वरका जन हुन जन्म्यौ । तिम्रो जीवनमा परमेश्वरको योजना त्यही नै हो । त्यही नै परमेश्वरको उद्देश्य हो । … परमप्रभु परमेश्वरले तिमीलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ । उहाँले चाल्नुभएको पहिलो कदम यही थियो कि उहाँ स्वैच्छिक रूपमा क्रूसमा जानुभयो । त्यस क्रूसमा उहाँ तिम्रो सट्टामा मर्नुभयो । उहाँले तिम्रो ठाउँ लिनुभयो, तिम्रो दण्ड बोक्नुभयो र तिम्रो दोषलाई सदाको लागि हटाइदिनुभयो । …

आन्द्रु, तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्‍यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो ह्रदयमा विश्वास गर्‍यौ भने तिम्रो उद्धार हुने छ । किनकि आन्द्रु, तिमीले आफ्नो ह्रदयले विश्वास गर्छौ र तिमी निर्दोष ठहरिन्छौ, अनि तिमीले मुखले स्वीकार गर्छौ र उद्धार पाउँछौ । … किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।” …

आन्द्रु, तिमी मेरा छोरा भएकोले तिम्रो निम्ति मेरो प्रेम गहन छ । परमेश्वरले तिमीलाई सृष्टि गर्नुभएकोले मैले तिम्रो जीवनमा देखेको क्षमता उत्कृष्ट छ । येशू ख्रीष्टलाई आफ्ना मालिक र प्रभुको रूपमा स्वीकार गरी उहाँप्रति आज्ञाकारी बन्यौ भने तिमीले दसौँ लाखको जीवनमा आशिष् ल्याउन सक्ने छौ, तिनीहरूलाई बदल्न सक्ने छौ, तिनीहरूको जीवनमा महान् खुसी र अनन्त जीवन ल्याउन सक्ने छौ ।

“मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।” मैले येशूको यस भनाइलाई तिम्रो उमेरमा गम्भीरतापूर्वक लिएँ । म यसलाई माया गर्दछु । संसारमा यो सबैभन्दा उत्तम जीवन हो । मेरा पुत्र, तिमीले आफ्ना सारा ह्रदय र प्राणले येशूलाई पछ्यायौ भने तिमी पनि आनन्दित हुने छौ । यस विद्रोही संसारमा अरू के छ ? धेरै कुरा छैनन् ।

चाँडै नै भेटौँला ।

म तिमीलाई माया गर्दछु र तिम्रो लागि प्रार्थना गर्दछु,

पिता

Facebook Comments

Powered by Youth Circle