अपहरणमा परेका मिसनरी प्रार्थनाको परिणामस्वरूप १६ महिनापछि मुक्त भए 

बेन्जामिन वेर आफ्नी पत्नी क्यारोलसँगै पश्चिम एसियाली मुलुक लेबानोनमा प्रभुको सेवा गर्दै थिए । यी दम्पती मिसनरी बनेर त्यस देशमा गएका थिए । तर मे १९८४ मा बेन्जामिन अकस्मात् अपहरणमा परे । इस्लामिक जिहाद (पछि यसको नाउँ हेजबोल्लाह राखियो) नाउँ गरेको अतिवादी समूहले मिसनरीको अपहरण गरेको थियो ।

अपहरणपश्चात् बेन्जामिनलाई एकान्त ठाउँमा अवस्थित साँघुरो कोठामा राखियो । आफ्ना पतिलाई फेरि देख्ने हो कि होइन भन्ने विषयमा पत्नी क्यारोल अनिश्चित थिइन् । त्यस्तो कठिन परिस्थितिमा उनले लेखेकी छन्, “महिनौँ बितिसकेका छन्, कैयौँ बैठक बसिसकेका छन् र कैयौँ छलफल भइसकेका छन् तर कुनै परिवर्तन देखा परेको छैन । कतै परमेश्वर नै मौन रहनुभएको छैन भन्ने जस्तो लाग्यो मलाई । यतिका महिनासम्म बेन [बेन्जामिन] लाई के हुँदै थियो ? यो डरलाग्दो स्थितिको अन्त्य कहिले हुने हो ?”

क्यारोलले अमेरिकी प्रशासनलाई पनि घचघच्याइसकेकी थिइन् । उनले कैयौँ पटक व्यक्तिगत निवेदन बिसाएकी थिइन् । तर पतिको अत्तोपत्तो लागेको थिएन ।

उनले बाइबलमा उल्लिखित एक जना एकल महिलाको कथालाई स्मरण गरिन् जहाँ ती महिलाले परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने अधर्मी न्यायाधीशको ढोका निरन्तर रूपमा ढकढक्याइरहिन् । अन्ततः उनको दृढताको कारण न्यायाधीशले ढोका खोलिदिएको छ । क्यारोललाई आफू तिनै महिलाजस्तो लाग्यो जसले वासिङ्गटनको ढोका धेरै पटक ढकढक्याएकी थिइन् ।

अन्त्यमा १६ महिनापश्चात् परमेश्वरले क्यारोलको अन्तरबिन्तीलाई सुनेर जवाफ दिनुभयो । बेन्जामिन मुक्त भए । लेबानोनमा ३० वर्षसम्म मिसनरी भएर बिताएका बेन्जामिन मध्यपूर्वमा शान्ति र मिलापको लागि संसारकै एक प्रभावशाली आवाज बनेका छन् ।

Facebook Comments

Powered by Youth Circle