ख्रीष्टियान विश्वासलाई खिल्लामा उडाउने प्राध्यापकले अन्तत: घुँडा टेके

रिचार्ड लुम्सडेन अमेरिकाको लुसियाना राज्यस्थित तुलाने विश्वविद्यालयका प्राध्यापक थिए । तिनले परजीविशास्त्रसाथै कोष जीवशास्त्र पढाउने गर्थे । डार्बिनवादी विकासवादलाई अङ्गाल्ने तिनी नास्तिक थिए । तिनको बुझाइमा बाइबलमा अभिलिखित सृष्टिको विवरण काल्पनिकसिवाय केही थिएन । कक्षा कोठाहरूमा ख्रीष्टियान विश्वासको खिल्ली उडाउन पाउँदा तिनलाई आनन्द लाग्थ्यो ।

ख्रिस्टाब्द १९८० को दसकमा लुसियाना राज्यले सरकारी स्कुलहरूमा विकासवादको विषयलाई जस्तै गरी सृष्टिवादको विषयलाई पनि समान समय दिनुपर्छ भन्ने विधेयक अगाडि सार्‍यो । यो विधेयकले लुम्सडेनलाई निकै क्रोधित तुल्यायो । तिनले आफ्नो एउटा प्रस्तुतीमा सृष्टिवादको विरुद्धमा बौद्धिक बमवर्षा मात्र गरेनन्, तर उपहाससमेत गर्न भ्याए ।

आफ्नो प्रस्तुतीपश्चात् तिनका एक जना श्रेष्ठ विद्यार्थी तिनीकहाँ आइन् र उनले तिनको तारिफ गरिन् । तारिफकर्तासित प्रश्नहरूको सङ्गालो पनि थियो । त्यही दिन लुम्सडेनले उनलाई आफ्नो कार्यालयमा निमन्त्रणा गरे । छलफलको क्रममा प्रश्नकर्ताका प्रश्नहरू सुनेर प्राध्यापक छक्क परे । डार्बिनवादी विकासवादबारे भएका कैयौँ प्रश्नहरूलाई कतिपय वैज्ञानिकहरूले आँखा चिम्लेर विश्वास गर्थे भनी उनले औँल्याइन् । उनका प्रश्नहरू वैज्ञानिकसाथै तर्कसङ्गत भएकाले प्राध्यापकलाई आफ्नो अडानको रक्षा गर्न हम्मेहम्मे पर्‍यो ।

तिनीहरूको छलफल तीन घण्टा लम्बिएको थियो तर डार्बिनवादी विकासवाद बौद्धिक संसारमा टिक्दोरहेनछ भनेर पत्ता लगाउन प्राध्यापकलाई धेरै समय लागेन । तिनको दृष्टिकोण उल्टियो । आफ्ना जवाफहरू वैज्ञानिकसाथै तार्किक दृष्टिकोणबाट अपर्याप्त थिए भनेर बुझेपछि लुम्सडेनले आफैलाई प्रश्न गरे, “प्राकृतिक प्रक्रियाबाट आफसे आफ जीवको उत्पत्ति भएको थिएन भने वैकल्पिक व्याख्या के थियो त ?” परमेश्वर नै जवाफ थियो । तिनले परमेश्वरको अस्तित्वमाथि विश्वास गरे ।

एउटा परिवारको सदस्यले तिनलाई मण्डलीको सेवामा उपस्थित हुन निमन्त्रणा दिएपछि तिनले सहमति जनाए । सेवाको अन्त्यमा पास्टरले वेदीमा आउन निमन्त्रणा दिए । त्यस क्षणलाई सम्झँदै लुम्सडेन व्याख्या गर्छन्, “मैले आफैलाई वेदीतिर गइरहेको पाएँ । त्यहाँ मैले परमेश्वरलाई भेट्टाएँ । साँच्चै त्यस क्षणमा मैले उहाँलाई चिनेँ र प्रभु येशू ख्रीष्टलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरेँ ।”

चाँडै नै तिनले सृष्टिवादको पक्षमा वकालत गर्न थाले । त्यसपछिका वर्षहरूदेखि आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनी विकासवादीहरूसित खुलमखुला वादविवादमा संलग्न भए । साक्षीले वास्तवमै उत्पत्तिको पुस्तकमा लिखित सृष्टिको विवरणलाई समर्थन गर्दोरहेछ भनी तिनले वकालत गरे ।

ख्रिस्टाब्द १९३८ मा जन्मेका लुम्सडेनले जीवनमा करिब ९० ओटा शोधपत्र प्रकाशित गरे । परजीविशास्त्रमा प्रदान गरिने उच्चत्तम इनामसमेत हात पारेका तिनी ६० वर्षको उमेरमा १९९७ मा आफ्नो अनन्त घरमा प्रवेश गरे ।

Facebook Comments

Powered by Youth Circle