भिन्सीको विश्वप्रसिद्ध चित्र प्रभु–भोज पछाडि गजबको शिक्षा लुकेको छ 

लिओनार्दो दा भिन्सी बहुप्रतिभाशाली व्यक्तित्व थिए । ख्रिस्टाब्द १४५२ मा फ्लोरेन्स (वर्तमान इटालीमा पर्ने) मा जन्मेका भिन्सी चित्रकार, अन्वेषक, कालिगड, वैज्ञानिक, सङ्गीतकार, गणितज्ञ आदि थिए । तिनी मानव इतिहासका महानतम चित्रकारहरूको सूचीमा पर्छन् । तिनका चित्रहरूमध्ये मोनालिसा सर्वाधिक प्रसिद्ध छ ।

भिन्सीका विश्वचर्चित चित्रहरूको सूचीमा पर्ने अर्को एउटा चित्र पनि छ जसलाई प्रभु–भोजको नाउँले चिनिन्छ । यसमा येशूले आफ्ना १२ जना चेलासँग अन्तिम भोज खान लाग्नुभएको दृश्यलाई चित्रमा उतारिएको छ (यूहन्ना १३:२१) । लगभग १४९५ मा बनाउन सुरु गरिएको यस चित्रको पछाडि एउटा रोचकसाथै शिक्षामूलक कहानी पनि लुकेको छ ।

भिन्सीले यस चित्रको आरम्भ गर्नुअगि तिनका एक जना चित्रकार दौँतरीसित तिनको भनाभन भएको थियो । आफ्ना मित्रदेखि तिनी यति धेरै रिसाएका थिए कि यहूदा इस्करियोतको अनुहारको प्रतिनिधित्व गर्न तिनले आफ्ना मित्रको अनुहार बनाउने निधो गरे । यसो गरेर तिनले बदला लिन खोजेका थिए ताकि आगामी पुस्ताहरूमा तिनको अनुहारले कुख्याति कमाएको होस् । तिनले पहिले इस्करियोतको अनुहारलाई नै बनाएर सिद्ध्याए । त्यो अनुहार भिन्सीसित झगडा गर्ने मित्रको अनुहार थियो भनी प्रस्ट थियो ।

तर येशूको अनुहार बनाउन लाग्दा भिन्सी अगाडि बढ्नै सकेनन् । लाग्थ्यो, तिनलाई केही कुरोले बेचैन बनाइरहेको थियो । तिनका प्रयासहरू व्यर्थ बन्दै थिए । तिनलाई बेचैन तुल्याइरहेको कुरो अरू केही नभएर इस्करियोतको अनुहारमा तिनले आफ्नो मित्रको अनुहार हाल्नु नै थियो भन्ने निष्कर्षमा पुगे तिनी । इस्करियोतको अनुहारलाई मेटेपछि तिनी अगाडि बढ्न सके । तिनले चित्रलाई सम्पन्न गरे जुन संसारका प्रसिद्ध चित्रहरूमा गनिएको छ ।

Facebook Comments

Powered by Youth Circle