ख्रिस्टाब्द १८३६ मा अमेरिकामा जन्मेका अदोनिराम जडसन प्रचारक, लेखकसाथै बाइबल अनुवादक थिए । तिनी बर्मामा मिसनरी भएर आएका थिए ।
अमेरिकामा पास्टर हुँदा जडसनले मण्डलीको सामुन्ने एक जना जवान केटोलाई भेटे जसले आफूसित एउटा खिया लागेको पिँजडा बोकिरहेको थियो । पिँजडाभित्र थुप्रै चराहरू डरले पखेटा फटफटाउँदै थिए ।
जडसनले सोधपुछ गरे, “यी चराहरू तिमीले कहाँबाट ल्याएको ?”
“मैले तिनलाई बारीमा पासोमा पारेको”, केटोले जवाफ फर्कायो ।
“तिमी यी चराहरूलाई के गर्छौं” भन्ने जडसनको प्रश्नमा केटोले उत्तर दियो, “म तिनीहरूसँग खेल्ने छु अनि मलाई लाग्छ, हाम्रो घरमा एउटा बिरालो छ म तिनलाई त्यसको आहारा हुन दिने छु ।”
जडसनले पैसा तिरेर ती चराहरूलाई किन्ने मनसाय व्यक्त गर्दा केटो यसो भन्दै चिच्च्याए, “तपाईं तिनलाई चाहनुहुन्न । यी जङ्गली चराहरू हुन् जसले राम्ररी गाउन सक्दैनन् ।”
“म तिमीलाई पिँजडा र चराहरूको लागि दुई सय रुपियाँ दिन्छु”, जडसनले मूल्य चुकाउन खोजे ।
जडसनले पिँजडासहित ती चराहरू किने अनि केटो खुसी हुँदै, उफ्रँदै आफ्नो बाटो लाग्यो । जडसन मण्डली भवनको पछाडिपट्टि गए र तिनले पिँजडाको ढोका खोले अनि ती चराहरूलाई पिँजडाबाट मुक्त गरिदिए ।
आगामी आइतबार आफूसँगै रित्तो पिँजडा लिएर जडसन पुल्पिटमा गए । कसरी येशू ख्रीष्ट हराएकाहरूलाई खोज्न आउनुभएको हो भन्ने सम्बन्धमा तिनले आफ्नो यस अनुभवलाई उपमाको रूपमा प्रयोग गरे । पुल्पिटबाट पास्टर जडसनले यसो भन्दै थिए, “‘यी चराहरूले गाउन सक्दैनन् भनी केटोले मलाई भन्दै थियो ।’ तर जब मैले तिनलाई मुक्त गरिदिएँ तिनीहरू आकाशतिर जाँदै थिए र लाग्थ्यो तिनीहरूले ‘हामीले छुटकारा पायौँ, छुटकारा पायौँ, छुटकारा पायौँ’ भनेर गाउँदै थिए ।”
येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले रगत बगाउनुभयो अनि आफ्नो अनमोल रगतद्वारा हामीलाई छुटकारा दिनुभयो । “हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो” (गलाती १:४) ।