मत्तीले प्रस्ट पारेका छन् कि बप्तिस्मा-दिने यूहन्नाले मानिसहरूलाई यर्दन नदीमा बप्तिस्मा दिन्थे । मानिसहरूले “आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे” (मत्ती ३:६) । यूहन्ना १ अध्यायअनुसार तिनले बेथानियामा बप्तिस्मा दिन्थे, “यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए” (पद २८) । तिनले एनोनमा बप्तिस्मा दिन्थे भनी ३ अध्यायमा लेखिएको छ, “यूहन्नाले पनि सालीमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो । त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे” (पद २३) । यूहन्नाले कहाँ बप्तिस्मा दिन्थे— यर्दन नदीमा वा बेथानियामा वा एनोनमा ?
यूहन्नाले बप्तिस्मा दिने एउटा ठाउँ थियो, बेथानिया । यर्दन नदी पारि अवस्थित यो ठाउँ र यरूशलेम नजिकै रहेको लाजरसको गृहनगर बेथानिया एउटै ठाउँ होइन । तिनले एनोन भन्ने ठाउँमा पनि बप्तिस्मा दिन्थे । यो ठाउँ यर्दन नदीको पश्चिमपट्टि पर्थ्यो र यहाँ प्रशस्त पानी थियो । यर्दन नदी यूहन्नाले बप्तिस्मा दिने अर्को क्षेत्र थियो । येशूले यही नदीमा तिनीबाट बप्तिस्मा लिनुभएको थियो ।
यूहन्नाले कहाँ बप्तिस्मा दिन्थे ? यस प्रश्नको जवाफ हुन्छ— माथि उल्लिखित तीनवटै ठाउँमा । तिनले कम्तीमा पनि तीनवटा ठाउँ (यर्दन नदी, बेथानिया र एनोन) मा बप्तिस्मा दिन्थे । कुनै पनि खण्डले यूहन्नाले एकै ठाउँमा मात्र बप्तिस्मा दिन्थे र अर्को ठाउँमा दिँदैनथ्ये भनेर बताउँदैन ।