आत्महत्या गर्न हिँडेकी स्त्रीले वचन सुनेपछि ख्रीष्टमा विश्वास गरिन्

ख्रिस्टाब्द १८३४ मा इङ्गल्यान्डमा जन्मेका चार्ल्स स्परजिन उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने स्परजिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित एउटा मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे ।

मानिसहरूको जीवनमा उदेकको परिवर्तन ल्याउन परमेश्वरले तिनका वचनहरूलाई असाधारण रूपमा प्रयोग गर्नुभएका उदाहरणहरू मनग्गे पाइन्छन् । एक साँझ भएको एउटा घटना त्यस्तै उदाहरणहरूमध्ये एक हो ।

एक साँझ एउटी वेश्या आत्माहत्या गर्ने हेतुले ब्ल्याकफ्रायर्स ब्रिजतर्फ अगाडि बढ्दै थिइन् । यो इङ्गल्यान्डको राजधानी लन्डनस्थित एउटा पुलको नाउँ हो । जाने क्रममा उनी मण्डलीमा आएर रोकिइन्, केही वचन सुन्ने आशाका साथ । विख्यात वक्ता स्परजिनले लूका ७:३६–५० बाट प्रचार गरिरहेका थिए । यस खण्डमा येशूको पाउलाई आफ्ना आँसुले पुछ्ने एउटी पापी स्त्री अर्थात् वेश्याको बारेमा बताइएको छ । स्परजिनले खासमा पद ४४ लाई जोड दिँदै थिए जहाँ लेखिएको छ, “यस स्त्रीलाई देख्तछौ ?” वक्ताको प्रवचन सुनेपछि ती स्त्रीले आफूलाई हेरिन् र परमेश्वरको उदेकको अनुग्रह पनि देखिन् अनि उनले आफ्नो जीवन येशू ख्रीष्टमा अर्पण गरिन् ।

परमेश्वरको वचनले उनलाई आत्महत्या गर्नदेखि रोक्नुकासाथै अनन्त जीवन पनि प्रदान गर्‍यो । के यो मानव जीवन परिवर्तन गर्नमा बाइबलको वचनमा असाधारण शक्ति छ भन्ने प्रस्ट नमुना होइन र ?

Facebook Comments

Powered by Youth Circle